अशोक झा…
राजविराज, १९ भदौं । सप्तरी जिल्लामा शुक्रवार २ प्रहरी सहित ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २ जना प्रहरी र जिल्ला कारागार राजविराजका ६ जना कैदीवन्दी सहित जम्मा ८ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको स्वाब जाँचबाट उनीहरुमा संक्रमणको पुष्टि भएको छ ।
संक्रमितहरुलाई आइसोलेट गर्ने व्यवस्था भई रहेको छ भने यो संगै जिल्लामा संक्रमितको कुल संख्या ८ सय ६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। गौतमका अनुसार २४ घण्टामा ४ सय ६४ महिला र ८ सय ९५ पुरुष गरेर १३ सय ५९ पुगेको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा १३ सय ५४ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ। यो कुल संक्रमितको ५६ प्रतिशत हो।