ईमधेश न्यूज सम्वाददाता,
राजविराज, १२ चैत ।
जबरजस्ती करणी मुद्दाका फरार आरोपितलाई प्रहरीले १३ वर्ष पछि पक्राउ गरी कारागार चलान गरेको छ ।
घटनाको ११ वर्ष पछि १३ वर्षको कैद सजाय सप्तरी जिल्ला अदालतले फैसला सुनाए पनि फरार रहेको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ बस्ने बिकु मुखियाको ३५ वर्षिय छोरा सेभु भनिने श्याम मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
२०६४ असोज ९ गते सोही ठाउँ बस्ने एक युवतीलाई जबरजस्ती करणी गर्दै फरार भएका मुखियालाई प्रहरी चौकी बरसाइन सप्तरीबाट खटिएका प्रहरी टोलीले बिहीवार पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि करागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।