अशोक झा
राजविराज, १० चैत ।
किर्ते नागरिक्ता बनाएको आरोपमा सप्तरी जिल्ला अदालतले ६ जनालाई कैद तथा जरिवाना सजाय तोकेको छ ।
सप्तरीबाट एक भारतीय नागरिकको तीन पुस्ताले किर्ते नागरिकता बनाएर वर्षौदेखि नक्कली नागरिक बनेको पुष्टि भए पश्चात उनीहरुलाई कैद तथा जरिवानाको सजाय तोकेको छ ।
सासुको नामबाट आफ्नो र पुरै परिवारको किर्ते नागरिकता बनाउने भारत बिहार राज्य जिल्ला मधुबनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय गंगाधर यादव, उनका छोरा ५० वर्षीय कमलदेव यादव, निजकी श्रीमती ४५ वर्षीया गुलाबीदेवी यादव, अर्का छोरा ४० वर्षीय अमरेन्द्र यादव, निजकी श्रीमती ३५ वर्षीया ममतादेवी यादव र कमलदेवका छोरा २० वर्षीय विवेकानन्द यादवले किर्ते गरी नक्कली नागरिकता लिएको ठहर भएको हो।
जिल्ला न्यायाधीश रीता बख्रेलको इजलाशले गंगाधरलाई ३ वर्ष कैद र २० हजार जरिवाना, कमलदेव र अमरेन्द्रलाई २–२ वर्ष कैद र १०–१० हजार जरिवाना तथा गुलाबदेवी, ममतादेवी र विवेकानन्दलाई जनही १ वर्ष कैद र १० हजार जरिवानाको फैसला भएको छ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. २ का अरुणकुमार यादवले दिएको जाहेरीले उनीहरुविरुद्ध किर्ते नागरिकता खडा गरेको तथा झुठा विवरण पेश गरी नागरिकता लिएको मुद्दा दर्ता भई कारवाही अगाडि बढेको थियो। अरुणले कात्तिक १६ गते उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले कात्तिक २० गते छानबिन प्रकृया अगाडि बढाउन प्रहरीलाई पत्राचार गरेको थियो ।
गंगाधरको ५० वर्ष अघि डाक्नेश्वरी नगरपालिका वडा नं. २ की सुभद्रादेवीसँग विवाह भएको थियो । सुभद्रा भारत बिहारको घोघडिहास्थित घर नगई माइतमा बस्दै आएकी थिइन । गंगाधरले सुभद्रादेवीकी आमा बिल्टीदेबीको नाममा किर्ते गरी आफ्नो हो भन्ने बनाई मतदाता नामावली परिचय पत्र बनाए। पछि किर्ते गरी नागरिकता समेत बनाए।
उजुरी परेपछि छानबिन गर्दा बिल्टीदेवीको जग्गा धनी पुर्जामा उल्लेख भएको उनको नाममा जारी भएको नागरिकता नम्बर ७१०२२६१४ नै गंगाधरको नागरिकतामा देखिएपछि उनले किर्ते नागरिकता बनाएको खुलासा भयो। गंगाधरकै नागरिकताका आधारमा उनका २ छोरा र २ बुहारी र १ नातीले समेत वंशजको नागरिकता लिएका छन्।