अशोक झा, राजविराज, ०६ चैत । करिब २० महिना अघि हत्या गरी फरार रहेको एकजना आरोपितलाई सप्तरी प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ । हत्या पश्चात फरार रहेको राजविराज नगरपालिका वडा नं. ६ (हाल वडा नं. ७) खर्साल टोल बस्ने रामलखन मेहताको २४ वर्षिय छोरा श्रवण कुमार मेहतालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार तिरहुत गाउँपालिका वडा नं. ३ बस्ने उपेन्द्र यादवको २५ वर्षिय छोरा जय कृष्ण बिराजीलाई मेहता सहित ८ जना युवाहरुको समूहले कृटपिट गर्दै २०७६ असार १० गते ज्यान मारेका थिए । घटनाको दिनदेखि फरार रहेको मेहताको खोजतलासको क्रममा प्रहरीको टोलीले बिहीवार सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ तिनकुनेबाट पक्राउ गरेको छ । पक्राउ गरेका मेहतालाई शुक्रवार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।