अशोक झा,
राजविराज, ०५ चैत ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिष सिंहले बुधवार राति भएको आगलागी पीडितलाई राहत वितरण गरेका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ का अग्नि पीडित परिवारलाई अध्यक्ष सिंहले बिहीवार भुजा, चामल, बाल्टिन, मग सहितका राहत सामग्री प्रदान गरेका हुन् ।
खाना पकाउने ग्यास लिक भएर बुधबार राति भएको आगलागीमा स्थानीय हरिकिसुन खंग, रामचन्द्र खंग र नकछेदी खंगको घर पूर्ण रुपमा सखाप भएका थिए । आगलागी कारण घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा, खाधान्न, सरसामानहरु जलेर नष्ट भएको छ । आगलागीमा करिब २० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।
राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाबाट पुगेको वारुणयन्त्रको सहयोगमा बर्साइन प्रहरी चौकी, हनुमाननगरस्थित सशस्त्र प्रहरी बल, बर्साइन कुशहाको सशस्त्र प्रहरी बलको टोली तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।