अशोक झा,
राजविराज, ०५ चैत । सडक तथा नाला निर्माणको लागि ठेक्का लिएका कम्पनीको लापरबाहीले राजविराजमा दुर्घटनाको जोखिम बढेको छ भने सर्वसाधारणलाई पैदल हिडडुलमा समेत समस्या भई रहेको छ ।
सडक तथा नाला निर्माणको कार्यमा तिब्रता नदिदा नगरको मुख्य बजारसम्म पुग्न चारैतिरका सडकहरुमा निर्माण कार्यको लागि थुपारिएको निर्माण सामग्री तथा माटो उत्खनन गरिएर बनाइएको खाल्डोले सर्वसाधारणलाई अति नै समस्या भई रहेको छ ।
राजविराजको मुख्य सडक देखि राजदेवी मन्दिर, गजेन्द्र नारायण सिंह अस्पतालदेखि तेतरी गाछी चौकसम्म, अस्पतालदेखि महेन्द्र विन्देश्वरी क्याम्पस तथा अनेकौं मुख्य तथा सहायक सडकहरुको अवस्था पनि ठेक्का लिएका निर्माण कम्पनीको लापरबाहीले खतरनाक नै भएको छ ।
राजविराज नगरपालिका वडा नं. २ तेतरीगाछी चौक सडक खण्डमा नाला निर्माणसँगै सडक निर्माण कामको ठेक्का दिवा निर्माण सेवाले पाएको छ । ठेकेदार कम्पनीले नाला निर्माणको क्रममा ३ देखि ५ मिटरदुरीमा ठाउँ–ठाउँमा गहिरो खनेर होमपाईप हाल्ने काममा तिव्रता नदिएको कारण दुर्घटना बढाएको छ ।
ठेकेदार कम्पनीलाई नाला निर्माणसँगै सडक निर्माणको काममा तिव्रता दिनका लागि स्थानीयले आग्रह गरेपनि कम्पनीले कुनै ध्यान नदिएको स्थानीयहरुको भनाई छ ।