अशोक झा राजविराज, १८ फागुन ।
म्याद सकिएकोर अखाद्य वस्तु मिसाइएको “पेप्सी” र “स्लाइस”राजविराजमा खुलेआम बिक्री वितरण भईरहेको पाइएको छ । राजविराज नगरपालिका वडा नं. ७ स्थित शम्भुबाबा सप्लायर्सले म्याद सकेको “पेप्सी” बजार पठाएको छ भने अखाद्य वस्तु मिसाइएको “स्लाइस” बिक्री गरी उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने कार्य गरिरहेको आरोप उपभोक्ता मंचका अध्यक्षराज कुमार साहले लगाएका छन । गर्मी बढेसँगै उपभोक्ताको सबैभन्दा रुचीको रुपमा रहेको पेय पदार्थ “पेप्सी” र “ट्रोपिकाना स्लाईस”मा स्वास्थ्यका लागि प्रतिकुल असर पार्ने खालका तत्व फेला पर्नु उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड भएको समेत उनले दाबी गरे । खासगरी बालबालिकाहरुको बढी रुची रहेको “स्लाइस”मा नै यस्तो तत्व फेला पर्नुले रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकाहरु बढी विरामी पर्र्नु निश्चित रहेको उपभोक्ता समितिका पदाधिकारीहरु बताउँछन् । यस्तो किसिमको पेय पदार्थ बिक्री वितरण गर्ने उत्पादन गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याई कडा भन्दा कडा आवश्यक रहेको नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादव बताउँछन् । यादवका अनुसार पेय पदार्थमा मिसावट पाइएको कुरा दुःखद रहेको भन्दै उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जानी–जानी खेलवाड गर्ने अधिकार कसैलाई नभएकोले यस्तो बिक्रेता तथा उत्पादनकर्तालाई कारबाही आवश्यक रहेको बताए । जिल्लामा खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयको मौनताको कारणले नै यस्तो अवस्था आउने गरेका भन्दै अध्यक्ष यादवले भने यस्तो जटिल अवस्थालाई सम्बन्धित कार्यालयले तुरुन्त संज्ञानमा लिई कारबाही प्रक्रिया अगाडी बढाउनु आवश्यक छ । यस्तै कुनै पनि पेय पदार्थमा कार्बोनडाइअक्साड र चिनीको समिश्रण भएको हुनाले म्याद नाघे पछि कार्बोनडाइअक्साडको मात्रामा समेत हेरफेर भएको हुनाले म्याद नाघेको पेय पदार्थ सेवन नगर्न गजेन्द्र नारायण सिंह अंचल अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. रन्जित झाले सुझाव दिएका छन् । म्याद नाघेको पेय पदार्थ तथा मिसावट देखिएको पेय पदार्थ सेवन गर्नाले स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकोले हुनाले उत्पादन, बिक्री वितरण तथा सेवनमा ध्यान दिन डा. झाले सबैमा आग्रह समेत गरेका छन् । यस सम्बन्धमा कृष्णा दैनिकले स्थानीय शम्भु बाबा सप्लायर्सका प्रोपराइटर सुजित साहसँग सम्पर्क गरेको बेला साहले यसमा आफ्नो कुनै गल्ती नरहेको भन्दै मौनता देखाएका छन् भने कम्पनीका मनमोहन ठाकुरले यस सम्बन्धमा जाँचबुझ पछि मात्रै केही भन्न सकिने बताए ।