अशोक झा,
राजविराज, २० फाल्गुन ।
अविलम्ब कार्यपालिका बैठक बोलाउनु पर्नेलगायतको ८ सुत्रीय माग राखी शम्भुनाथ नगरपालिकाका वडा अध्यक्षहरुले कार्यबाहक नगरप्रमुख अनिता देवी चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् । तीन दिनभित्र माग सम्बोधन नगरे चरणबद्ध आन्दोलनका उत्रिने चेतावनीसहित आइतबार कार्यबाहक मेयर चौधरीलाई उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा ८ महिनादेखि कार्यबाहक मेयर चौधरीले कार्यपालिका बैठक नबिलाउँदा विकासका कार्यहरू प्रभावित हुन पुगेको तथा प्रमुख प्रशासकीय अधिकृत विनय सोनुले मनपर्दी गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा कार्यबाहक मेयरले बहुमतको दम्भ देखाएर तपाईहरु नगरपालिका नआउनुस, बैठक बोलाएको बेला मात्र आउँनुस, हाम्रो पार्टीको बहुमत छ, हामी चलाउँछौ भन्ने अभिव्यक्ति दिने गरेको भन्दै खेद प्रकट गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सोनुले निजि सवारी भाडामा लिई दुरुपयोग गरिरहेको र कठौना बजारमा आवासको व्यवस्था हुदाहुदै राजविराज बस्दा नगरपालिकालाई दोहोर आर्थिकभार थपिएको र कार्यालयमा विरलै आउने गरेको भन्दै वडा अध्यक्षहरुले बुझाएको ज्ञापनपत्रमा आपत्ति जनाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सोनु नियमित रुपमा कार्यालय बस्नुपर्ने लगायतका थप बुँदागत माँगहरु तीन दिन भित्र पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी ज्ञापनपत्र दिएको छ ।