अशोक झा,
राजविराज, २९ भाद्र ।
विद्यमान राजनीति अवस्थाका कारण सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्किदै गएको मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादवले बताएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा शनिवार ६०औं बालदिवसको अवसरमा आयोजित “सामुदायिक विद्यालयमा शिक्षाको वर्तमान अवस्थ, चुनौतीहरु र सम्भावना” विषयक निबन्ध प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथीको आसनबाट उनले यस्तो बताएका हुन् ।
सामुदायिक विद्यालयहरुमा शिक्षाको स्तर खस्किदै जानुका प्रमुख कारण समाजमा रहेको नकारात्मक राजनीति, विद्यालयमा राजनीति तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको बीचको राजनीति रहेको उनले बताए ।
चिल्ड्रेन भिजन च्यारेटी तथा इन्टिलेक्चुअल फाउण्डेशनको आयोजनामा आयोजित सो निबन्ध प्रतियोगितामा जिल्लाभरिका ९ वटा विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरकी छात्रा समिक्षा साह प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् भने चुमन हरी जनता माध्यमिक विद्यालय मैनाकडेरीका छात्र दोस्रो तथा राजेश्वर माध्यमिक विद्यालय बलान बिहुल गाउँपालिका वडा नंं ३ की छात्रा मुनिका कुमारी यादव तेस्रो स्थान प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा सदरमुकाम राजविराज स्थित राजेदवी जोगेन्द्र भगत ठाकोदेवी माध्यमिक विद्यालयबाट विशाल झा, नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयबाट खुश्बु दास लगायत ९ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए।
प्रतियोगिताको निर्णायक मण्डलमा पूर्व शिक्षिका मञ्जु श्रेष्ठ, लक्ष्मण मेहता र चुनचुन यादव रहेका थिए ।
च्यारेटीका अध्यक्ष देव विलास यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा इन्टेलेक्चुअल फाउण्डेशनका अध्यक्ष डा. सुर्य कुमार यादव, शिक्षक लक्ष्मण मण्डल, गोरखा पत्र दैनिकका मधेश प्रदेश ब्युरो प्रमुख धीरेन्द्र साह सहितकाले आ–आफ्ना मन्तव्य दिएका थिए ।