जनकपुरधाम, ३ माघ ।
मधेश प्रदेशको नामाकरण तथा स्थायी राजधानी घोषणा भएको ऐतिहासिक दिन स्वाभिमान दिवसको अवसरमा तात्कालीन प्रदेश सभाका सदस्यहरुलाई बुधबार एक कार्यक्रमबीच सम्मान गरिएको छ !
गृह संचार तथा कानून मंत्रालयद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि जसपा अध्यक्ष, सांसद तथा पूर्व उपप्रधानमंत्री उपेन्द्र यादवले अधिकार सम्पन्न नभए संघीयताको कुनै अर्थ नरहने बताउनुभयो ।
“मुख्यमंत्री छ, झण्डा छ, सरकारपनि आफ्नो छ तर राज्य आफ्नो छैन भने संघीयताको कुनै अर्थ रहदैन, उहाँले स्पष्ट पार्नुभयो ।
अधिकारको लागि केन्द्रलाई घचघचाइरेको आठ बर्ष भएको प्रसंग कोट्याउंदै नेता यादवले बिना साधन स्रोतको अवस्थामा मधेश प्रदेशले बेथिति बेहोर्नु परेको छ ।
उहाँले भन्नुभयो , सबैलाई सम्मान, अवसर चाहिन्छ । सम्मान र पहिचानको लडाई जारी छ ।
जसपा अध्यक्ष यादवले अधिकारको संघर्षसंगै मधेशमा सुशासनको आवश्यकता पनि उतिकै रहेको खांचो रहेको औंल्याउनुभयो । संघीयता त अरुलाईपनि चाहियो तर हाम्रो लागि संघीयता प्राणवायु हो भन्नुहुंदै उहांले राजनीतिकर्मीहरुलाई भ्रष्टाचारको दलदलमा नफंस्नपनि कडा निर्देश दिनुभयो ।
मधेश प्रदेशका मुख्यमंत्री सरोजकुमार यादवले सभामुख हुंदा नामाकरणमा आफूले खेलेको महत्वपूर्ण भूमिकाबारे प्रकाश पार्नुहुंदै आफूले नियमावली संशोधन गरी गोप्य मतदान गर्न लगाएपछि स्थिति फेरिएको बताउनुभयो ।
लालबाबु राउत नेतृत्वको तात्कालीन सरकारसँग सामान्य बहुमतमात्र रहेको अवस्थामा प्रदेशसभा सदस्यहरुसंग वन टु वन कुरा गरेको स्मरणपनि मुख्यमंत्री यादवले गर्नुभयो ।
सो अवसरमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा भौतिक पूर्वाधार विकास मंत्री कृष्णप्रसाद यादवले मधेश आंदोलन एवं मधेश प्रदेश नामाकरणमा नेपाली कांग्रेसको पनि योगदानकम नरहेको चर्चा गर्नुभयो । तथापि मात्र मधेशको राग अलापेर काम नचल्ने बताउंदै मंत्री यादवले अब २४ मा २० घण्टा काम गर्नुपर्छ, बताउनुभयो ।
६१ लाख आबादीमा १३ अर्ब बजेट र कतै १८ लाख आबादीमा १८ अर्ब बजेट छ, अन्याय अहिले पनि भैरहेको उदाहरण अघि सार्दै उहांले भन्नुभयो ।
अर्थमंत्री संजय कुमार यादवले मधेश र मधेशी जनताको अधिकार कुंठित गरी अंतरिम संविधानमा नाम नलेखिंदा संविधान जलेको प्रसंग उल्लेख गर्नुभयो।
मधेशीलाई दोयम दर्जाको नागरिक ठानिदा ठूलो आन्दोलन भएको बताउंदै उहांले यो मात्र स्वाभिमान दिवस हैन यसले मधेशीलाई अन्तर्राष्ट्रीयस्तरमा मान सम्मान दिलाएको धारणा पनि राख्नुभयो।
एकीकृत समाजवादी पार्टीका नेता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मंत्री गोविन्द बहादुर न्यौपानेले कृषिमा लाग्न नचाहने युवा जमातलाई कृषितर्फ फर्काइनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । मधेश प्रदेशलाई कसरी समृद्ध र खुशहाल बनाई मधेश प्रदेशको गौरव कसरी कायम गर्नेतर्फ सबै केन्द्रित हुन अपीलपनि उहाँले गर्नुभयो ।
उद्योग, वाणिज्य तथा पर्यटन मंत्री सुनीता यादवले सात प्रदेश मध्ये पहिचानको आधारमा मधेश प्रदेशको मात्र नामाकरण हुनसक्नु गर्वको कुरा भएको बताउनुभयो ।
चुनौती अझ छन्, संघीयतामाथि बारम्बार प्रहार भैरहेको बताउंदै उहाँले संघीयता बचाउन अधिकारवादीहरुलाई अग्रणी भूमिका खेल्न तयार रहनसमेत आव्हान गर्नुभयो ।
पूर्व मुख्यमंत्री लालबाबु राउतले मधेश प्रदेश नामांकरणमा सबै राजनीतिक दलका नेताहरुको भूमिका रहेको चर्चा गर्नुहुंदै मधेश स्वाभिमान दिवस घोषणाको प्रशंसा गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुहुंदै गृह, संचार तथा कानून मंत्री मोहम्मद समीमले मधेशका लागि जब जब परीक्षा दिनुपरे आफू कसीमा खडा ओर्लने प्रतिवद्धता व्यक्त गर्नुभयो । भ्रष्टाचारको मामिलामा आफू शून्य सहनशीलताका प्रस्तुत हुने विश्वास पनि सो अवसरमा उहाँले दिलाउनुभयो ।
उक्त अवसरमा गृह, संचार तथा कानून मंत्रालयका निमित्त सचिव उत्तम खरेलले स्वागत मन्तव्य दिनुभएको थियो ।