अशोक झा
फागुन २३ गते, राजविराज । सिरहा जिल्लाको कर्जन्हा नगरपालिकाबाट बिहे गरेको एक महिनामै श्रीमती हत्याको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहे गरेको एक महिनामै २२ वर्षिय श्रीमतीको हत्या आरोपमा प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ७ प्रेमनगरका २३ वर्षिय अमर राउतलाई पक्राउ गरेको हो ।
२३ वर्षका अमरले २२ वर्षकी पत्नी पूजा पोद्दारको हत्या गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका अमरलाई जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । घटनामा अन्य व्यक्तिहरु पनि संलग्न रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अमर र काठमाडौं महानगरपालिका–२० जैसीदेवलकी २२ वर्षीया पूजा पोद्दारबीच २७ माघमा काठमाडौंको भद्रकाली मन्दिरमा विवाह भएको थियो । प्रेम सम्बन्धपछि आफूखुसी विवाह गरेका उनीहरु विवाहपछि काठमाडौंको बाफलमा डेरामा बस्थे ।
प्रहरीका अनुसार उनीहरुको विवाहलाई अमरको परिवारले स्वीकार गरेको थिएन । अमर परिवारलाई मनाउन भन्दै घर गएका थिए । अमर काठमाडौं नफर्किएपछि १६ फागुनमा पूजा पनि सिरहा पुगेकी थिइन् । सिरहाको वस्तीपुर पुगेपछि उनले अमरलाई लिन बोलाएकी थिइन् ।
‘अमरले आफू बाहिर रहेको र साँझ लिन आउने बताएका थिए’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले भने, ‘साँझमा भेट्न पुगेका उनले पूजालाई कमला नदीको किनारमा लगी घाँटी थिचेर हत्या गरेका रहेछन् ।’