राजविराज ११ फाल्गुन ।
मुलुकका दक्षिणी सिमा नाकाहरुमा प्रशासनले कडा सुरक्षा गरेपनि पछिल्लो पटक सप्तरीको विभिन्न सिमावर्ती नाकाहरुबाट अबैध समान ओसार पोसार हुने क्रम बढदै गएको छ । सोही क्रममा सप्तरीबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.–५ लोखरम बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास रहेका छन् ।
सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार बीओपी तिलाठीको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको उक्त रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १० लाख रुपैयाँ बरामद भएको र उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेका कारण बरामद रकम सहित दुवै जनालाई भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी सिमा चेक आउट पोष्ट बिओपि तिलाठीका सशस्त्र प्रहरी निरिक्षक सुशील केसीले जानकारी दिनुभयो ।त्यसैगरी भारतबाट अवैधरुपमा चाँदी नेपाल भिक्रयाउँदै गरेको अवस्थामा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको भरपुरी घर भएका २६ वर्षीय जोसिम आलम छन् ।
सशस्त्र प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न.–१ बेल्हीबाट १ केजी ३९ ग्राम चाँदीसहित उनलाई नियन्त्रणमा लिएको हो । यता बरामद गरिएको चाँदीसहित आलमलाई राजविराज भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।