राजबिराज ३० मंसिर ।
राजविराजमा प्रदेश स्तरीय महिला क्रिक्रेट खेल मंगलवार देखि प्रारम्भ भएको छ ।प्रधानमन्त्रीकप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि संचालित सो प्रदेश स्तरीय महिला छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत सिरहारले सप्तरीलाई तथा महोतरीले बारालाई पराजित गर्दै बिजयीको शुरुवात गरेको छ ।
राजरंगशालामा संचालित सो खेल प्रतियोगिता अन्तर्गत भएको पहिलो खेलमा सप्तरीले टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित १४ ओभरको खेलमा ९ बिकेटको नोक्सानीमा २७ रन मात्र बनाउन सफल भएको थियो । सप्तरीका लागि कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेका थिएन भने अतिरिक्त रनको रुपमा १९ रन प्राप्त गरेका थिए । बलिंग तर्फ सिरहाका आरती चौधरीले ३ ओभरमा १ मेडन सहित २ रन दिई ३ बिकेट लिएका थिए भने अनुराधा चौधरी २ तथा सन्तोषी चौधरी, सरस्वती चौधरी र कविता गौतमले सामान १ बिकेट लिएका थिए ।
२८ रनको लक्ष्यका साथ मैदानमा ओर्लेको सिरहाले उक्त लक्ष्य १४ बलमा बिना कुनै बिकेटको नोक्सानीमा विजेता टिम बनेका थिए । सिरहाका लागि आरती चौधरी ७ तथा अनुराधा चौधरी ५ रनमा नटआउट रहेका थिए ।आयोजित खेलको म्यान अफ द म्याचको उपाधि सिरहाका उत्कृष्ट बलिंग गरे वापत आरती चौधरी प्राप्त गरेका थिए ।
मंगलवार नै सम्पन्न एक अर्को खेलमा बाराले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ८ बिकेट गुमाई ६८ रन बनाएका थिए । बाराका लागि कुनै पनि खेलाडिले दोहोरो अंक छुन सकेका थिएन भने अतिरिक्त रनको रुपमा ३१ रन प्राप्त गरेका थिए । बलिंग तर्फ रेजि कडेरीले ४ ओभरमा १२ रन दिई ३ बिकेट प्राप्त गरेका थिए भने बिमाला मगर, मानसी चौहान र शोभा आलेले १ बिकेट लिन सफल भएका थिए ।
६९ रनको लक्ष्य साथ मैदानमा ओर्लेका महोतरीका टिमले उक्त लक्ष्य सजिलै ४४ बलमा २ बिकेटको नोक्सानीमा प्राप्त गर्न सफल भएका थिए । महोतरीका लागि बिमला मगरले नटआउट रहि १९ रनको योगदान दिएका थिए भने पुष्पाफुयालले १२ रनको योगदान दिएका थिए । बलिंग तर्फ बाराका साना प्रबिन र चान्दनी अधिकारीले सामान १ बिकेट लिएका थिए ।खेलको म्यान अफ द म्याचका उपाधि उत्कृष्ट बलिंग गरे वापत महोतरीका रोजि कडारीले प्राप्त गरेका थिए ।