अशोक झा,
राजविराज २१ साउन,
होम क्वारेन्टाइनमा मृत्यु भएका रुपनी गाउँपालिकाका एकजनालाई बुधवार अन्तिम संस्कार गरिएको छ ।
डेढ महिनाअघि मलेसियाबाट आई होम क्वारेन्टाइनमा बसेका रुपनी गाउँपालिका वडा नं. ५ गढियाका एक व्यक्तिको मृत्यु पश्चात स्थानीय प्रशासनको निर्देशन अनुसार अन्तिम संस्कार गरिएको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले ईमधेश न्यूजलाई बताए ।
अन्तिम संस्कारमा मृतकका भाई र परिवारका अन्य सदस्य सहित जम्मा पाँच जनाको सहभागी रहेको हुदाँ कोरोना भाईरस पोजेटिभ हुन सक्ने सम्भावना प्रवल हुनसक्ने भन्दै अध्यक्ष यादवले भने– मृतकको स्वाब परीक्षणको लागि संकलन गरिएको छ र रिपोर्टको आधारमा सहभागी अन्य व्यक्तिहरुका लागि अगामी निर्णय लिन सकिन्छ ।
होम क्वारेन्टाइनमा बसे पनि ती ४५ वर्षीय व्यक्तिले पीसीआर परीक्षण गराएका थिएनन् । पीसीआर परीक्षणका लागि बोलाउँदा परिवारले उनी राजविराज गएको र उतै गराउने भन्दै पन्छिने गरेको गाउँपालिकाका अध्यक्ष यादवको भनाई छ ।
केही दिनदेखि ज्वरो देखिएका उनलाई मंगलबार अझ च्यापेको र दम बढेपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा त्यहाँ उपचार हुन नसकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो । तर, अस्पताल परिसरमा पुग्नेबित्तिकै उनको मृत्यु भएको अध्यक्ष यादवले जानकारी दिए ।
परिवारले बुधबार बिहान शव गाउँ ल्याएर अन्तिम संस्कार गर्न लाग्दा गाउँपालिकाले रोकेको थियोे । जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्वाब संकलनपछि मात्र शव अन्तिम संस्कार गर्न दिइने बताए पनि सबैको निर्णय पश्चात अन्तिम संस्कार गरिएको छ ।
यसैबीच राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मंगलबार राति मृत्यु भएका दुई जनाको पनि स्वाब संकलन गरिएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि १५ गते अस्पताल भर्ना भएका डाकनेश्वरी नगरपालिका वार्ड नं. ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका वडा नं. ७१ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य प्रमुख यादवले दुवै जनामा शंकास्पद लक्षण देखिएकाले अन्तिम संस्कार रोकी स्वाब संकलन गरिएको छ ।