लिलाकान्त यादव,
राजविराज ०५ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा २ को शर्मा टोलमा आगो लागेर आईतवार राती ४ घर जलेर नष्ट भएका छन् ।
राती करिव ९ः३० बजेको समयमा आगलागी हुदाँ चार थान घर सहित लगभग २५ लाख बराबरको धनमाल डढेर नष्ट भएको हो ।
जगन शर्माको घरबाट प्रारम्भ भएको आगोले छिमेकका नारायण शर्माको एक थान घर, दुर्गानन्द शर्माको १ थान घर र सुमित मगरदैताको १ थान घर गरी जम्मा चार थान घर आगोको चपेटामा लिएको स्थानीय वडा अध्यक्ष संतोष गौईत यादवले जानकारी गराए । आगोबाट खाद्ययान, लताकपडा तथा अन्य खुद्रा समानहरु डढेर नष्ट भएको बताएको छ ।
गोठमा गाई बस्तुलाई न्यानो पार्न बालिएको आगोबाट घरमा लागेको स्थानियहरुले आशंका गरेका छन् । बेलैमा नगरपालिकाबाट बारुणयन्त्र नआएको भए सम्पूर्ण बस्ती टोलमै आगो फैलिन सक्ने बताएको छ ।
डढेर नष्ट भएका घरहरु कृषक परिवारका रहेकाले वढी मात्रामा अन्नहरु नष्ट भएका छन् ।