अशोक झा ,राजविराज ।
राजविराज स्थित साईकृष्णा आइसोलेशन सेन्टरमा रहेको विवाद छलफल पछि समाधान भएको छ ।
कोरोना संक्रमितहरुले खाना र खाजा राम्रो नभएको भन्दै खाना बहिष्कार तथा व्यवस्थापन पक्षमाथी लगाएको आरोपका कारण दुई पक्षबीच विवाद उत्पन्न भएको थियो ।
कोरोना संक्रमितको उपचारका लागि प्रदेश २ सरकारले संचालनमा ल्याएको मुलुककै सबभन्दा बढी १ सय ७८ बेडको आइसोलेशन कक्षमा खाना र खाजा राम्रो नभएको भन्दै भर्ना रहेका संक्रमितहरुले मंगलबार बिहान बिरोध जनाउँदै खाना बहिष्कार गरेका थिए ।
हाल सो आइसोलेशनमा १ सय ३१ जना संक्रमित भर्ना रहेका छन् । आइसोलेशनमा दिने गरिएको खाना र खाजा गुणस्तरहिन रहेको र यसबारे व्यवस्थापन पक्षलाई बारम्बार अवगत गराए पनि सुधारको संकेत नदेखिदा बाध्य भएर खाना बहिष्कार गरेको एक संक्रमितले बताए ।
यता आइसोलेशनमा खटेका कर्मचारी, स्वास्थ्यकर्मी तथा खाना पकाउने भान्सेले आफूहरुमाथी केही संक्रमितहरुद्वारा विभिन्न बखेडा झिकेर विभिन्न आरोप लगाउँने तथा अभद्र व्यवहार गर्ने गरेको भन्दै आइन्दा आइसोलेशनमा काम नगर्ने अडान लिएका थिए ।
अवस्था जटिल बन्दै गएपछि मंगलवार दिउँसो राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा लगायतका टोली आइसोलेशनमा गएर दुबै पक्षबीच सहमति गराएका छन् । संक्रमितको जायज माँगलाई सम्बोधन गर्ने तथा आइसोलेशनमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मी तथा कामदारहरुप्रति संक्रमितले सम्मानजनक व्यवहार गर्ने प्रतिबद्धता जनाए पश्चात सहमति बनेको नगरप्रमुख यादवले बताए ।
यता गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख तथा आइसोलेशन व्यवस्थापन समितिका अध्यक्ष डा. रन्जित झाले १ सय ८१ रुँपैया प्रति छाकका दरले खानाको बजेट उपलब्ध रहेकोमा सोही परिधी भित्र रही स्तरिय खानाको व्यवस्था गरेको बताएका छन् ।
आइसोलेशनमा निगरानीका लागि जडान गरिएका ९ मध्ये ३ वटा सिसि क्यामरा समेत दुई÷तीन जना संक्रमितले गलत नियतले फुटाइदिएको जानकारी दिदै मेसु झाले त्यस्ता व्यक्तिका कारण त्यहा खटिएका स्वास्थ्यकर्मी र कर्मचारी समेत तनावमा परेको बताए ।
उनले त्यस्ता संक्रमितको पहिचान गरि चाडै अन्यत्रको आइसोलेशनमा पठाउने तयारी भइरहेको जानकारी पनि दिए ।