ईमधेस न्यूज संवाददाता
जनकपुरधाम, भदौ २५ ।
१७ वर्ष अघि भएको गौर घटना तत्कालिन माओवादी नेता प्रभु साहको दम्भ र माओवादी हिंसा बाट पिडितहरुको रिसको उपज गौरमा नरसंहारको घटना भएको एक कार्यकममा दावी गरिएको छ ।
सोमबार नेपाल बौद्धिक पेशाकर्मी महासंघ मधेश प्रदेश, समितिको आयोजनामा जनकपुरधाममा गौर घटना बारेमा सत्यतथ्य र भ्रम विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी बक्ताहरुले सो दावी गरेका हुन्।
घटनाको यथार्थमा जाँदा तत्कालिन मधेशी जनअधिकार फोरमको केन्द्रिय निर्णय अनुसार एक महिना अघि नै गौरको राइस मिलमा विरोध सभा आयोजना गर्ने निर्णय गरेको भएता पनि प्रभु साहलेआफ्नो दम्भ देखाउन र मधेशी जनअधिकार फोरमको कार्यक्रम बिथोल्न सोही ठाउँमा बलपूर्वक कार्यक्रम गर्ने ढिपी कसे पछी घटना भएको उनिहरुको दावी थियो। विभिन्न स्थानमा फोरमको विरोध सभा विथोल्दै आएको माओवादीले गौरको कार्यक्रम समेत विथोल्ने योजना अनुरूप बाहिर बाट माओवादी लडाकुलाई बोलाएर कार्यक्रममा आक्रमण गरेपछि माओवादी पीडितहरुको आक्रोशका कारण माओवादी लडाकुहरु मारिएको उनिहरुको दावी थियो ।
स्थानिय माओवादी पिडितहरुले प्रतिकार नगरेको भए फोरमका नेता, कार्यकर्ता एवं शुभचिन्तकलाई ठुलो क्षति बेहोर्नु पर्थ्यो उनिहरुको निष्कर्ष रहेको थियो।
१७ बर्ष अघिको घटना लाई उचालेर पुन: संघीयतालाई धारासायी पार्न खोजिएको भन्दै वक्ताहरुले शासक वर्गलाई सचेत समेत गराएका थिए।बौद्धिक पेशाकर्मी महासंघ मधेश प्रदेश कमिटीका अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत, पूर्व आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादव, घटनाका प्रत्यक्षदर्शी शिवलाल पटेल लगायतकाले घटनाको सत्यतथ्य बारे आ आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा प्राध्यापक, अधिबक्ता, चिकित्सक, लगायतका बुद्धिजिवीहरुको ब्यापक सहभागिता रहेको थियो।