राजविराज, ५ पुस । प्रधानमन्त्रीकप महिला क्रिकेट प्रतियोगिताका लागि यहाँ भइरहेको प्रदेश २ स्तरिय छनौट प्रतिया्गिताको उपाधी महोत्तरीले हात पारेको छ । आइतबार राजरंगशालामा सम्पन्न फाइनल खेलमा सिरहालाई ८ विकेटले हराउँदै महोत्तरीले सो उपाधी हात पारेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको सिरहा निर्धारित २० ओभरको खेलमध्ये १४ दशमलव ५ ओभरमै सब विकेट गुमाउँदै ८६ रनको चुनौती पेश गरेको थियो । सिरहाका लागि कविता गौतम २४, उर्मिला चौधरी १५ र सरस्वती चौधरीले १४ रनको योगदान दिएका थिए । बलिङतर्फ महोत्तरीकी शोभा आलेले घातक वलिङ गर्दै ५ तथा बिमला मगरले ३ र रोजि कडारीले २ विकेट लिएकी थिइन् । जवाफी ब्याटिङमा उत्रेको महोत्तरीले १४ दशमलब ४ ओभरमै २ विकेटको क्षतिमा बिजयी लक्ष्य प्राप्त गरेको थियो । महोत्तरीका लागि बिमला मगरले सर्वाधिक ३२ तथा गोमा आले २४ र रोजि कडारीले २१ रनको योगदान दिएका थिए । प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै विपक्षि टिमको ५ विकेट लिए वापत महोत्तरीकी शोभा आले प्लेयर अफ द फाइनल घोषित भइन् । प्रतियोगिता समाप्तिपछि क्रिकेट संघ सप्तरीका अध्यक्ष एवं प्रदेश २ का सचिव आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, तिलाठी कोइलाठी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, प्रदेश २ क्रिकेट संघका उपाध्यक्ष सुनिल महासेठ, छनौट प्रतियोगिता प्रदेश २ का संयोजक मुर्तुजा हवारी, खेलकुद पत्रकार संघका अध्यक्ष मनोज कुमार माझी, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, वडा अध्यक्ष जयनारायण मण्डल, प्रशिक्षक राजकुमार दास, प्रकाश शर्मा लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।