भूपदेव माली,
राजविराज ०१ माघ ।
तराईमा बढदै गएको चिसो हावाले मानवजीवन कष्टकर बन्दै गएको छ । पश्चिमी चिसो हावाको सँगै शितलहरले एक्कासी वातावरणमा परिवर्तन ल्याएको छ ।
पौष २६–२७ गते देखि तराईको क्षेत्रमा बढदै गएको शितलहरले मानवजीवन सँगै गाई–गोरु, खसी–वाख्रा, भैसी जस्ता घरपालुवा जनावरलाई पनि कष्टकर स्थिती उत्पन्न भएको छ । तराईका मानिसले केही दिनदेखि सूर्यका किरण हेर्न सकेका छैनन् । संध्याकालदेखि ९–१० बजे सम्म बाक्लो कुहिरो भरिएको कारणले सडकमा आवतजावत गर्न सवारी चालकहरुले बाटो हेर्न नसकेर सडक दुर्घटना हुने खतरा समेत बढेको स्थिती उत्पन्न भएको छ ।
विगत वर्षहरुमा कुहिरो लाग्ने समयको भन्दा यो वर्ष फरक समयमा लागेको छ । प्रायः पौष महिनाको प्रारम्भ मै अर्थात अन्तिम डिसेम्वर देखि जनवरी सम्म अर्थात माघसम्म कुहिरो लाग्ने गर्दथ्यो । तर यो वर्ष चाही सो समयसम्म न्यानोको अनुभूति गर्दै आएको अवस्थामा एक्कासी मौसममा चिसोपन बढनाले खासगरी ग्रामिण जनजीवनमा वढी प्रभाव पारेको छ । ग्रामिण क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण किसान, खेतीहर मजदुर, पशुपालक वर्गका मानिसमा यसको असर वढी पर्न गएको छ । यस्ता वर्गका मानिसहरुलाई दैनिकी कामकाजमा अवरोधको स्थिती उत्पन्न भएको छ ।
चिसोका कारण ग्रामिण क्षेत्रका मानिसहरुले आ–आफ्ना जिउलाई न्यानो पार्न आगोको सहारा लिन बाध्य छन, दाउरा बालेर जिउलाई न्यानो पारिरहेको अवस्था छ । पशुपालक किसानहरुलाई गाई भैसी, भेडा–बाख्राका लागि घाँसपात चराहरु ल्याई खान दिने कार्यमा समस्या परेको देखिन्छ । अझ त गरिव विपन्न अर्थात दैनिकी मजदुरी गरी खाने मानिसहरुलाई रोजगार पाउन समेत समस्या परेको अवस्था सृर्जित भएको छ ।