इमधेश न्यूज सम्वादाता,
जनकपुरधाम, २३ साउन ।
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघका र समाजवादी विद्यार्थी युनियनका नेता कार्यकर्ताहरुले मधेस प्रदेशमा जम्बो मन्त्रीपरिषद गठन गरिएको बिरोधमा प्रदर्शन गरेको छ । मुलुकमाथी आर्थिक संकट रहेको समयमा राज्यकोषको दोहन गरिएको हिसाबले मधेसमा कुर्सी बचाउनकै लागि जम्बो मन्त्रीपरिषद गठन गरिएकोले विद्यार्थी युनियन र युवा संघले बिरोध प्रदर्शन गरेको हो ।
युवा विद्यार्थीनेताले मन्तव्यका क्रममा संघियतामाथी नै प्रहार हुने गरी कुर्सी टिकाउनकै लागि जम्बो मन्त्रीपरिषद बनाउनु मधेसवासीलाई सह्य नहुने बताए । उनले जनमत चुनावअघि ठूल ठूला भाषणलाई विश्वास गरेर मधेसका जनताले अवसर दिएपनि अहिले आएर एमाले कांग्रेसको कठपुतली भएर काम गरिरहेको आरोप लगाए । उनले कानूनी रुपमा कुल प्रदेशसभा सदस्य संख्याको २५ प्रतिशतको संख्यामा मन्त्री बनाउन सक्ने प्रावधान रहेपनि मधेस जस्तो कमजोर आर्थिक स्थिति रहेको प्रदेशमा जम्बो मन्त्री परिषद गठन गर्नु गलत रहेको बताए ।
आन्दोलनकारीहरुले मन्त्रीपरिषदलाई सानो आकारको बनाउन आग्रह गरे । हाम्रो आग्रह स्वीकार नगरिए शान्तिपूर्ण प्रदर्शनलाई चरणबद्ध रुपमा जारी राख्ने चेतावनी दिए ।
समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियन नेपालको अगुवाई जनकपुरधाम स्थित रामानन्द चोकमा गरिएको बिरोध प्रदर्शनमा कुर्सी आतंक बन्द गर, राज्यकोष दोहन गर्न बन्द गर लगायतका नारा समेत लगाएका थिए ।