आज गणतन्त्र दिवस हो।जनआन्दोलन २०६२, ०६३ पछि प्रत्येक जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ ।
गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो जहाँ राजा वा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनिधि हरूले शासन गर्ने गर्दछन् ।
नेपालमा विक्रम संवत् २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२ र ०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष ज्येष्ठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइदैछ । १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । ऐतिहासिक दिनको सम्मान स्वरूप हरेक वर्षको ज्येष्ठ १५ गते नेपालले आफ्नो गणतन्त्र दिवस मनाउँदछ । ज्येष्ठ १५ गतेको यसै ऐतिहासिक दिनको सम्मान स्वरूप सरकारले आज सार्वजनिक बिदा दिएर यसलाई सम्मान, गौरव र लोकतान्त्रिक गणतान्त्रिक मुलुकको उपलब्धिलाई उत्सवको रूपमा मनाउने निर्णय गरेकाछन्।
गणतन्त्र दिवस २०८१, १७ औं गणतन्त्र दिवस
यस वर्ष सरकारले गणतन्त्र दिवसलाई बढीभन्दा बढी नागरिकको सहभागितामा भव्यताका साथ मनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको ‘गणतन्त्र दिवस २०८१ मूल समारोह समिति’को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ।यही जेठ १५ गते गणतन्त्र दिवस मनाइँदैछ। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुसार ‘गणतन्त्र दिवस’लाई भव्य र सभ्य बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। टुँडिखेल काठमाडौँ लगायत देशैभरका थुप्रै ठाँउहरुमा आज भेला, कार्यक्रम अनि अन्तरक्रिया गर्ने गरिन्छ । साँझमा गणतन्त्रका अथक योद्धा सहिदहरूको सम्झनास्वरुप मैनबत्ती बाल्ने कार्यक्रम पनि गरिन्छ । गणतन्त्र दिवसका अवसरमा आज ७ वटै प्रदेशमा प्रभात फेरि, खेलकुद, प्रवचन, गोष्ठी एवं सांस्कृतिक कार्यक्रम समेत हुँदै छ । त्यसै गरी विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम गरिनेछ भने साँझमा दीपावलीको उल्लासमय कार्यक्रमहरू समेत राखिएको छ । यसैबिच गणतन्त्र दिवसको उपलक्ष्यमा छिमेकी मुलुकहरू चीन र भारत सहित अन्य मुलुकका प्रमुखहरूले शुभकामना दिँदै नेपालमा शान्ति र समृद्धिको नयाँ ढोका खोलिने विश्वास गरेका छन् । विधिको शासन कायम रहोस्, देशले राजनीतिक, सामाजिक, आर्थिक स्थिरता प्राप्त गर्न सकोस् । गणतन्त्र दिवसको सार्थक शुभकामना,