ईमधेश न्यूज सम्वाददाता,
राजविराज, ३१ वैशाख ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले कृषि क्षेत्रमा विज्ञहरु उत्पादन गर्दै र सो क्षेत्रमा बैज्ञानिकीकरण गरे मात्र देशमा व्याप्त गरिबी र बेरोजगारीको अन्त्य हुने बताएका छन् ।
आइतवार राजविराजमा मधेश कृषि विश्वविद्यालय, बीएसी एजीको पठनपाठन शुभारम्भ कायक्रममा उनले यस्तो बताएका हुन् । ‘विश्वका विभिन्न मुलुकहरु कृषिकै कारण समृद्ध भएको छ तर मधेश कृषिको ह्दय स्थल भएपनि कृषि विज्ञहरुको अभावका कारण कृषिमा क्रान्ति हुने बताउनु भयो ।
यति बेला परम्परागत खेतीले मात्र जीवन निर्वाह गर्न मुस्किल भएको हुँदा कृषिमा आधुनिकीकरण आवश्यक रहेकोले कृषि र शिक्षालाई प्राथमिकतामा राख्दै जनता समाजवादी पार्टीले सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गरिएको बताउनु भयो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश सरकारले आवश्यकता र औचित्यको आधारमा कृषि, सिंचाई, शिक्षा लगायतका छुट्टै मन्त्रालयहरु विस्तार गरी अगाडि बढेको बताए । ‘विषयगत मन्त्रालय भएपछि सम्बन्धित विषयमा काम गर्न सहज हुनेछ’ उनले भने, ‘प्रदेश सरकार कृषि र शिक्षालाई प्राथमिकतामा राखि काम अगाडि बढाएको छ, उत्पादन एवम् रोजगारमूलक क्षेत्रहरुमा मधेश प्रदेश सरकारले बजेट विनियोजन गर्न लागेको छ ।’
शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशकुमार यादवले मधेशमा साक्षरता प्रतिशत बढाउने बताउनु भयो ।
प्रदेश नीति आयोगका अध्यक्ष डा. नाथुराम चौधरीले नीति तथा कार्यक्रम र बजेट विनियोजनमा मधेश प्रदेश सरकारले कृषि, शिक्षा, रोजगार एवम् उत्पादनमूलक योजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखिने बताए । सामूदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अत्यन्तै कमजोर रहेको बताउँदै मन्त्री यादवले शैक्षिक गुणस्तर सुधारका लागि विशेष कार्यक्रम ल्याउन लागेको जानकारी गराए । विश्वविद्यालयका उपकुलपति डा.वैद्यनाथ महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा रजिष्टार डा.भगवान ठाकुरले कृषिको आधुनिककरण र रुपान्तरण गरी जनताको सामाजिक र आर्थिक स्थितिमा सुधार ल्याउन उच्च शैक्षिक र दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालय प्रतिवद्ध रहेको जानकारी दिए । उनका अनुसार विश्वविद्यालयमा हाल कृषि स्नातक कक्षा शुभारम्भ भएपनि पीएचडीसम्मको अध्ययन अध्यापनका साथै कृषिमा अनुसन्धानहरु हुने छन् ।
हाल बीएसी एजी अध्ययनका लागि ५० जना विद्यार्थीले भर्ना लिएका छन् । जसपा अध्यक्ष यादव सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्य हुँदा मधेश प्रदेश सरकारसँग विशेष पहल कदमी लिएर सप्तरीमा मधेश कृषि विश्वविद्यालय स्थापना गराउनुका साथै आवश्यक बजेट विनियोजन गर्न लगाएका थिए ।
यसरी नै जसपा नेपाल सप्तरी द्वारा नगर सभा हलमा अध्यक्ष यादवलाई भव्य स्वागत एवंम सम्मान गरेका थिए ।