आज अन्तर्राष्ट्रिय युवा दिवस हो।अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।
सन् २०२४ को युवा दिवसको नारा भने यसप्रकार छ। ’प्रविधीको प्रयोगलाई दिर्घकालिन बिकाससंग जोड्दै जानु ’यो वर्षको नारा तयार गरिएको छ ।
युवा जनसंख्यालाई संसारका कुनै पनि देशले आ–आफ्नै उमेरको परिधिमा राखेको छ, तथापि युवा भनेको मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर–समूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेगसहितको युवा अवस्था शक्ति र सामथ्र्यले भरिपूर्ण अवस्था हो ।
त्यसैले पनि होला, युवाहरूलाई परिवर्तनका संवाहक मानिएको छ, किनभने परिवर्तनका लागि नयाँ सोंच, उर्जा, चेतना, मौलिकता अनि हक्की स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसका लागि युवा अपरिहार्य छ । युवा परिवर्तनकारी दिशामा पूर्ण जोश जाँगरका साथ अगाडि बढ्ने साहस राख्दछ। युवा परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनै पनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्छन् । इतिहास साक्षी छ, युवाहरूको सहभागिताविना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यसअर्थमा युवाशक्ति भनेको अवसर र सही अर्थमा परिचालन गर्न नसकिएमा चुनौति दुवै हुन् । त्यसैले युवालाई हरेक क्षेत्रमा अवसर प्रदान गर्नुपर्छ। हाम्रा देशका युवाहरू गएका दशकदेखि रोजगारी, अध्ययन तथा सम्भावना खोजीको सिलसिलामा विदेश जाने क्रम झन्–झन् बढेको छ । संसारले युवाको महत्व बुझेर ठूल्ठूला कार्यहरू, विकासका लहरहरू र उर्जायुक्त दिवसहरू आँट्दासम्म पनि नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अझै अटाउन सकेको देखिदैन । हाम्रा युवाहरू मुख्यतः खाडी, कोरिया, जापानका देशमा पसिना बगाइरहँदा यता गाउँमा मलामीसम्मको जनशक्ति हम्मे–हम्मे परेको समाचार विभिन्न सञ्चार माध्यमबाट आएकै हुन् ।
दिनहुँजसो बाकसमा बन्द भएर आउने नेपाली युवाका शवहरू अनि तिनमा आश्रित परिवारका आँसुको हिसाब–किताब आजको दिनमा सरकार र सरोकारवाला संयन्त्रसँग कसले माग्ने होला?
युवाहरूको असीम ऊर्जा, विचार र योगदानमा निर्भर छ भन्ने कुरा हामी सबैले बुझ्नु आवश्यक छ। एक न्यायपूर्ण र दिगो संसारको आकार दिन युवा मानिसहरूको साथ र समर्थन गरौं।देश विकास कार्यमा युवाहरुलाई अवसर प्रदान गरौं।
स्वरोजगार ऋण र सीपमूलक शिक्षा प्रणालीजस्ता अवधारणा साकार पार्न नेपाली युवाहरूको जोडदार आवाज उठ्न जरुरी छ । जहाँ आवाज कमजोर भयो बुझे हुन्छ विकास ठप्प भयो । परिवर्तन ठप्प भयो । अतः युवा नै देशका शक्ति हून्।